Thursday, March 11, 2010

माली रुयो अरे

भुल्यौ कि त घौयाबारी आली रुयो अरे
ढिडो लिटो लोट्याएको थाली रुयो अरे

गरिब र निमुखाको लागेपछि भिसा
थर्काई खाने पल्लो गाउँको जाली रुयो अरे

बाझिएछ चर्किएछ रुखिएको धर्ती
हास्दैनन् रे घुर् यान गैह्रा फाली रुयो अरे

बेखबर बेघरबार बाँच्नुपर्दा बर्षौ सम्म
गोडमेल गरि जोगाउने माली रुयो अरे

लिलामीको तमासुक बुइगल चढे पछि
पुष माघको शीत छेक्ने पाली रुयो अरे ।

Tuesday, January 12, 2010

अस्तित्व थाङ्नाको

ए दिदी, भन त
खै तिम्रो थाङ्ना भित्रको
आत्माको अस्तित्व
खै तिम्रो प्रसव पीडा
घुलेको मातृत्व
खै तिमीले जन्माएका
सन्तान-सन्तान बीचको भातृत्व
तिमी उसिनेको भातसरी
छरपष्ट छरिएको वर्तमान च्यापेर
जोख्दैछ्यौ भविष्य तुलो र तराजुमा
पावामा ग्राम घटाउँदै
कोइरालो जोखेझैँ तरकारी बजारमा
तिम्रा भ्रुणहरु कर्मयोद्धा बनेर
बलिदानको मैदानमा तम्तयार छन्
वुर्जुवा मष्तिस्कले भरिएका घन्टाउकेहरु
अगुवा बनिसकेका छन्
समकलीनहरुले ब्रह्माण्ड चहार्न
सुरुङ खनिसकेछन्
तिमी मात्रै किन
मात्रै तिमी किन
निस्तब्ध मध्यान्नमा
कल्लीकुमारी भएर लुटिन्छ्यौ
डल्लीकुमारी भएर कुटिन्छ्यौ
हल्लीकुमारी भएर हल्लिन्छ्यौ
चिउरा कुटिएझैँ ढिकीमा
पात हल्लिएझैँ हुन्डरीमा
अनि रोकिन्छ्यौ बस ट्रक र ट्याक्सी
रोकिएझैँ ट्राफिक जाममा
के तिमीमा मस्तिष्क छैन
के तिमीमा चेतना छैन
के तिमीमा साहस छैन
कि तिमीमा जोस जाँगर र मेहनत छैन
तिमी बाँचेको रङ्गमाच
तिम्रो कारागार हैन
तिम्रो भविष्य तिमीले गर्ने
पश्चाताप हैन
तिम्रो वर्तमानमा जादुको रहस्य छैन
तिमी होऊ-
सिर्जनाकर्ता
निर्माणकर्ता
भविष्यकर्ता
अग्रजकर्ता
सुमार्गमा डोर्याउनु छ सन्तानलाई
गन्तव्यमा पुर्याउनु छ विश्वलाई
त्यसैले बाँच्न सिक
भुट्टो सुकी उमा र पारिजात बनेर ।

आली चराएछ

दुःख फुल्ने फूलबारीको माली कराएछ
निसाफ गर्न अदालतमा जाली डराएछ

जुन नुनले खून दिन्थ्यो त्यै खून नै लीन भयो
घैयाबारी साउने थोत्रो फाली हराएछ

मृत्यु तार्ने नाउष छैन मायालुको गाउँ छैन
घर गोठ पधेँरी सब खाली गराएछ

धर्ती-आकाश मौन बस्छ मौन बस्छ जून
ममताको बाला झुल्ने आली चराएछ

कति दुख्छ छाती

कति मुटु चस्किदा हुन् कति दुख्छ छाती
सन्तान खातिर अश्रु-धारा कति बग्छ राती

चर्किएर मुटु तिम्रो वेदनाले भिज्ला चोली
चिन्ता हैन प्रगतिको आर्शिवाद नै जाती

विपदमा संकटमा खाँचो पर्छ साथको
नडराउनू नचिच्याउनू शत्रु लाग्छ ताँती

कही पुग्न केही गर्न यात्रा शुरु नियती हो
भुल्ने छैन मेरो छाती नर्गनू है शंका रती

गौरवको गाथा गाउनू कर्मठकी भनी आमा
खुशी बाल्नू भित्रभित्रै जलाएर व्यथा जती

Saturday, May 30, 2009

आइरहे पो दुःख-सुख

आइरहे पो दुःख-सुख जिन्दगीको पार हुन्छ
छाइरहे पो आँसु-हाँसो जिन्दगीको सार हुन्छ

कति शान्त, उज्ज्वल छन् सधै धर्ती हेर्ने तारा
गाइरहे पो शान्ति धुनी कलहको हार हुन्छ

सिमसिमेको चालै हुन्न, आखिर धर्ती गलाउछ नै
धाइरहे पो समुन्द्रको आफ्नो छुट्टै धार हुन्छ

नुहिएको बालाभित्र स्वाभिमानको झुल्छ शिर
साइरहे पो कुना-काप्चा बाँझो धर्ती टार हुन्छ

मिर्मिरेलाई स्वागत गर्न डुब्नुपर्छ घाम पनि
पाइरहे पो सञ्जिवनी मञ्जरीको घार हुन्छ